Entertainment News

मलिना बनिन् मिस नेपाल

image

आई एम द टप अफ द वल्र्ड मंगलबार मिस नेपाल घोषित भएपछि सुनसरीकी मलिना जोशीले यसरी खुसी व्यक्त गरिन् ।
मिस नेपालको ताज जितेपछि आफूलाई संसारकै उत्कृष्ट भनेकी उनले त्यसलाई प्रमाणित गर्ने गतिलो मौका एक सातापछि लन्डनस्थित अल्र्स कोर्ट एक्जिविसन सेन्टरमा आयोजना हुने मिस वल्र्डमा पाउने छिन् । १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले ताजसँगै ५० हजार रुपैयाँ पनि हात पारिन् ।

१२ रुबी जडित चमकदार क्राउनलाई मलिनाले एक वर्षका लागि आफ्नो बनाएकी हुन् । बेलायती डिजाइनर बिल क्राउनले तयार पारेको ताज यो वर्षदेखि रनिङ क्राउनमा बदलिएको छ । हिडन ट्रेजरले बर्सेनि गर्ने मिस नेपालकी उनी १६ औं विजेता बनिन् ।

प्रमुख निणर्ायक यशोवर्द्धन प्रधानले उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई सोधेको यदि महिलाले मात्र यो विश्वमा राज्य गर्ने अवसर पाए भने सन् १९५० सम्ममा विश्वको स्वरूप कस्तो हुन्थ्यो होला ? भन्ने प्रश्नमा उनले महिलाहरूले मात्र अवसर पाए भने होइन, शासन नै गर्न थालिसके भन्ने जवाफ दिँदै आफूले पनि त्यसको प्रतिनिधित्व गर्ने बताएकी थिइन् । गतवर्षकी मिस नेपाल सदीक्षा श्रेष्ठले ताज पहिर्‍याइदिँदा पाँच फिट छ इन्च अग्ली २३ वषर्ीया मलिनाले हर्षका आँसु झारिन् । एमबीएमा अध्ययनरत मलिना गतवर्षको मिस एन्जेलमा समेत इन्टेलेक्ट टाइटल अवार्ड हात पार्दै उत्कृष्ट पाँचमा पुगेकी थिइन् ।

पौने तीन घन्टासम्म चलेको प्रतियोगितामा चितवनकी अनुपमा औरा गुरुङ फस्ट रनरअप बनिन् । ताजसहित ३५ हजार रुपैयाँ विजेता उनले नोभेम्बर १२ मा थाइल्यान्डमा हुने मिस अर्थमा प्रतिनिधित्व गर्नेछिन् । चितवनकै सरिना मास्केले सेकेन्ड रनरअप हुँदै २५ हजार रुपैयाँ हात पारिन् । यसै वर्षदेखि थपिएको थर्ड रनरअप र फोर्थ रनरअपमा क्रमशः भक्तपुरकी मनीषा विष्ट र वीरगन्जकी नेहा पौडेल चुनिए । नेहाले दर्शक मतका आधारमा पपुलर च्वाइस अवार्ड पनि हात पारिन् ।
उत्कृष्ट पाँचमा पुगेका सुन्दरीलाई यस पटक आयोजकले पाँचै अवार्ड दिएपछि अन्तिममा बाँकी रहेको मिस नेपाल विजेता घोषणाअघि नै ओपन सेक्रेट बनेको थियो ।

Online radio
More News